महिला, नेपालको जनसंख्याको आधा भाग जो बिना अहिले हामीले हेरिरहेको संसार र सृष्टि दुवै सम्भव छैन । आखिर को हुन् त महिला भन्ने सवालमा रहेर कुरा गर्ने हो भने लिङ्गको हिसावमा स्त्रीलिङ्ग र लैङ्गिकता हिसाबले पुरुषभन्दा दोस्रो दर्जामा रहेर सदियौँदेखि पछि पारिएका, थिचोमिचोमा पारिदै आएको एउटा समूह हो ।
त्यसो त नेपालमा हाल महिला र पुरुष बिच समान हक अधिकारका कुराहरु ल्याइए पनि मानिसको चेतनाको स्तरमा भने सुधार भएको पाईँदैन।
हाम्रो देशमा सामाजिक सम्बन्धमा, साँस्कृतिक, मूल्य मान्यता र संस्कारहरुमा पनि सामन्तवादी प्रवृत्ति व्याप्त छ। सामन्दवादको अर्काे रुप पितृसत्तात्मक सोच र पुरुषप्रधान समाज हो । यही सामान्तवादी सोच संस्कार र संस्कृतिका कारण महिलाहरु निकै ठूलो उत्पीडनमा छन् । त्यसो त नेपालमा परापूर्वकालदेखि नै महिलामाथि विभिन्न खालको दमन शोषण र हिंसा हुने गरेको पाइन्छ । सत्ययुगदेखि आज कलियुगसम्म आइपुग्दा हिंसाका स्वरुपहरु फरक भए पनि हिंसाको क्रम भने रोकिएको छैन । देवताको समयमा पनि सीता मैयाले पति रामलाई अग्नी परीक्षा दिनुपरेको थियो भने द्रौपदीले पाँच पाण्डवसँग विवाह गरेकी थिइन् । साथमा सती प्रथाका नाममा हजारौ महिलाको जिउँदै चितामाथि जल्नुपरेको इतिहास हामीसँग ताजै छ । तराईमा दाइजो प्रथाका नाममा महिलाहरु जल्नु परेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गर्दछ भने सुदुरपश्चिमको छाउपडी प्रथा अझै न्युनिकरण हुन सकेको छैन ।
नेपालमा दास प्रथाको अस्तित्वभन्दा पहिलादेखि नै महिलाहरु दासतामा परेका छन् र पुरुषले त्यो दासतालाई वैध ठहर्याउन मातृसत्तामा रहेका महिलाहरुको सम्मानजनक अवस्थाको अवमूल्यन गर्न र महिला स्वयम् भित्र आफु दोस्रो दर्जाका कमजोर र अपूर्ण जीव हुँ मेरो स्वतन्त्र अस्तित्व छैन भन्ने मनोविज्ञान निर्माण गर्न युगौदेखि पितृसत्तात्मक संस्कृतिको निर्माण गर्दै आएको छ । आधुनिकताको नाममा आशातीत उत्तरआधुनिक पुँजीवादी संस्कृतिले समेत महिलालाई वस्तुभन्दा बढी व्यवहार गरेको पाइँदैन मोडलिङको वा अन्य कुनै वस्तुको रुपमा हेर्ने गरेको छ । त्यसो त नेपालमा महिलाको हक अधिकारकालागि कानुनहरु नबनेका होइनन् । थुप्रै कानुन तथा नीति नियमहरु निर्माण भएका छन् । २०७२ सालको संविधानमा समानुपातिक समावेशीता, सहभागिता गर्ने लैङ्गिक विभेद अन्त्य गर्ने जस्ता कुराहरु समावेश गरेको छ । त्यतिमात्र नभई सामाजिक, आर्थिक, राजनीतिक धार्मिक हरेक तहमा स्थान पाउने स्वास्थ्य शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षामा समेत महिलाको पहुँच बढाएको छ । संविधानमा मौलिक हक र मानव अधिकारलाई समेत सुनिश्चित गरेको पाइन्छ ।
अब कुरा गरौँ यी सब कुराले के साँच्चै आयो त परिवर्तन? के महिला साँच्चै सशक्त भए त? यस्ता प्रयासहरुबाट के न्यूनिकरण हुँदै गए त महिला हिंसा ? वास्तवमा भन्ने हो भने यस्ता प्रयासहरुबाट महिलाहरु केही हदसम्म सशक्त भएका चाँहि अवश्य नै हो । जनसमुदाय तथा आम मानिसका बिच आवाज उठाउन सक्ने भने अवश्य भएका हुन् । राष्ट्रका विभिन्न ठूला पदहरु राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधीस जस्ता पदहरुमा महिलाले नै काम गर्दै आएको पाइन्छ । राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच र सहभागिता भने अवश्य बनेको छ ।
तर वास्तवमा यी सब प्रयासहरुबाट पनि हिंसाहरु भने त्यति कम हुन सकेका देखिदैन, हिजोका दिनमा महिला माथि घरेलु हिंसा, सासुले बुहारी माथि गर्ने दमन, बहुबिवाह जस्ता कुरा हुन्थे भने आजभोलि बलात्कार, महिला माथि एसिड प्रहार सार्वजनिक यातायातमा यौन दुव्र्यहार जस्ता शीर्षकका घटनाहरु सुन्नमा आउँछ ।
महिलाहरु क्षेत्र विशेष तथा समयसँग डराएर अगाडि बढ्नु पर्ने आवश्यकता कायम रहेको छ । महिला हिंसा र बलात्कारका समाचारहरु बढ्दै छन् । तर पनि अझै पनि महिलाहरु आफुमाथि हुने अन्याय, अत्याचारका विरुद्धमा बोल्न सक्दैनन् । आगामी दिनमा यस्ता किसिमका हिंसा दुव्र्यहार अन्त्यका लागि सबैमा सकारात्मक सोचको विकास हुनु जरुरी देखिन्छ।
अन्त्यमा समाजमा घटेको महिला हिंसा सम्बन्धी एउटा गजल -
कतिञ्जेलसम्म छोरीको इज्जतको दाग लुकाउँछ्यौ
हे आमा ! फेरि किन अपराधीको अपराध लुकाउँछ्यौ
दानवहरुको लुछाचुँडीले दिनरात पिरोलिएका
हर प्रश्नको होइन भन्दै उसको त्रास लुकाउँछ्यौ
थाहा छ सबैलाई यहाँ मर्न पीडितले नै पर्छ
किन दबाएर पिडा स्वार्थी यो समाज लुकाउँछ्यौ
आज बाँचिन् र पो इज्जतको चिन्ता छ तिमीलाई
मारेको भए यदि, उसको लास लुकाउँछ्यौ
अनु पोखरेल
कक्षाः १२