बत्तीमुनि अँध्यारो नेपाल

Posted on : 05 December 2023
Views : 791

१. परिचय

नेपाल प्रचीन कालदेखि शिक्षाको उर्वर भूमि हो । यसै भूमिमा बसेर ऋषिमुनिहरूले वेदको रचना गरे । यसै भूमिमा बसेर पुराणहरू लेखिए । यही भूमिमा अनेक ऋषि र ऋषिकाहरूको जन्म भएको थियो । कैयौँ वैदिक ज्ञानका रहस्यहरू नेपालमा मात्र जीवित रहेका थिए । आदिकवि वाल्मीकि, व्यास यहीँका थिए । वेद, महाभारत र आदिमहाकाव्य रामायण पनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरू हुन् । नेपालमा कण्व, विश्वामित्र, पुलह, मौद्गल्य, शृङ्गी, च्यवन, पाणिनि आदिलगायत  ऋग्वेदमा रहेका झन्डै ४०० ऋषि र ३० ऋषिकाहरूमध्ये महर्षि गर्गकी छोरी गार्गी, याज्ञवल्क्यकी पत्नी मैत्रेयी, महर्षि अगस्त्यकी पत्नी लोपमूद्रा, ऋषि दीर्धतमाकी नातिनी घोषा, अदिति, जुहू, इन्द्राणी, सूर्या, उर्वशी, अपाला, गोधा, विश्ववारा, विलोमी, सावित्री आदि यहीँका उत्पादन थिए । नेपाल ऋषिहरूको तपस्थली भएकाले विश्वका कुनै पनि सन्तहरू नेपालमा आएर सिद्धि प्राप्त गरेका प्रमाणहरू छन् । नेपालमा ईसामसिहाले महत्वपूर्ण आफ्ना ६ वर्ष बिताएका थिए । यहाँका सबै ऋषिहरूको नाम मात्रै उल्लेख गर्न पनि धेरै पाना खर्च गर्नु पर्ने हुन्छ । यहाँका राजा राज्य त्यागेर ऋषि बन्छन् । जनक, विश्वामित्र र गौतम बुद्ध यसका उदाहरण हुन् । श्रमद्भागवतको पञ्चमस्मन्धमा उल्लेख भएअनुसार भारतवर्ष नेपालकै विस्तारित भूमि हो । महाभारतमा जन्मिएका ऋषभदेवका छोरा भरतले अजनाभवर्षलाई भारतवर्ष भनी नामकरण गरेर शासन गरे । यसको राजधानी भरतपुर थियो । भारतवर्ष भनेको अहिलेको इन्डिया होइन बरु यहाँका भूभागहरू समेटिएका थिए । भाारतवर्ष बनाउने भरत त नेपालकै हुन् । भारतवर्ष हाम्रै भूमि हो । गण्डकी र कर्णलीसँग गण्ड र कौशिक ऋषिको सम्बन्ध रहेको पुराणले बताउँछ । वेदको स्रोत गायत्री महामन्त्र यही बसेर सिर्नना गरियो । हिमालय रत्नको खानी हौ । यो रत्नजडित  हिमालयलाई दोहन गर्न सक्ने यस धर्तीका मानवहरूलाई हिन्दु (हिमं+दुह) भनी नामकरण गरियो । 

२. वेद तथा उपनिषद नै आधुनिक विज्ञानको मूल स्रोत :

वेद सम्पूर्ण ज्ञानको स्रोत हो । यसैमा संसारको सृष्टि, स्थिति र लयको व्याख्या पाइन्छ । यसमा प्रकृतिको वर्णन छ, जीवको उत्पत्ति र विकासको वर्णन छ, यसैमा मानव धर्म र यससँग सम्बन्धित ६४ विद्या पाइन्छन् । यो ज्ञान हो, विज्ञान हो, दर्शन हो, कला हो । यो सौन्दर्य शास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र भूगोल, खगोल तथा सम्पूर्ण ब्रह्माण्डको व्याख्यान ग्रन्थ पनि हो । भनिन्छ संसारमा जे छ त्यो वेदमा छ भने वेदमा के छैन यो संसारमा पाइँदैन।

दर्शनको अर्थ देख्नु वा हेर्नु हो । जीवन र जगत्लाई नियालेर हेर्नु दर्शन हो । दर्शन शास्त्रले जीवन र जगत्को बारेमा अध्ययन र व्याख्या गर्छ । त्यसैले वेद दर्शन शास्त्र पनि हो । धर्मको अर्थ कर्म हो भने यो कुरा जान्नु ज्ञान हो र यसलाई व्यवहारमा प्रयोग गर्नु विज्ञान हो । भनिन्छ: विशिष्टं ज्ञानं विज्ञानम् । वेदमा यही कुराको बारेमा व्याख्या गरिएको हुनाले यसलाई धर्मशास्त्र वा दर्शनशास्त्र भनिएको हो । उपनिषद् र ब्राह्मणहरू विज्ञान हुन् । उदाहरणको रूपमा काठमा आगो छ भनेर पत्ता लगाउनु ज्ञान हो दुईटा अरणी मथन गर्नु विज्ञान हो र यसबाट आगो उत्पन्न गर्नु विज्ञानको प्रयोग हो । सबैले गर्ने कर्म नै धर्म हो । धर्म र दर्शनमा विरोध छैन ।  यी फरक होइनन्, पूरक छन् । ज्ञान र विज्ञान एकै सिक्काका दुई पाटा हुन् । ज्ञानबाट विज्ञानसम्म पुग्ने क्रिया नै धर्म हो । धर्मको माध्यमबाट मात्रै ज्ञानलाई विज्ञानसम्म जोड्न सकिन्छ ।

३. वेद र पुराण्मा सृष्टिसम्बन्धी धारणा :

ऋग्वेद  दसौँ मण्डल १२९ औ सूक्तमा ७ मन्त्रहरू छन् । यसमा भनिएको छ– “सृष्टिपूर्व प्रलयकालमा केही थिएन, सत्, असत् पनि थिएन, अन्धकार व्याप्त थियो । त्यहाँ मात्र एक ब्रह्म घोर तपस्यामा रहेका थिए । परब्रह्मको मनमा सृस्टि रचनाको शङ्कल्प भयो । उनमा पुरानो कर्मराशीको सञ्चय जो वीज विन्दुको  रूपमा रको थियो, यही सृष्टिको मूल कारण बन्यो” भनी बताएको छ । यसले ब्रह्माण्ड शक्तिमा परिवर्तन हुने वा  अमूर्त वीज विन्दु (शक्ति वा अमूर्त ब्र्रह्म) को रूपमा रहने र यसैबाट पुनः सृष्टि हुने कुरा स्पष्ट हुन्छ ।

श्रीदमद्भागवत् यसैको व्याख्या हो । यसको द्वितीय स्कन्धको नौ अध्यायमा भनिएको छ: जब परमात्माले सृष्टिका लागि घोर तपस्या गरी ब्रह्मालाई सृष्टि गर्नुभयो । ब्रह्माले आफ्नो काम के हो भनी सोधनु भयो । भगवान्ले संसारको सृष्टि गर्न भन्नुभयो । ब्रहमाले आफूलाई केही थाहा नभएको बताउँदा भगवानले चतुश्लोकी भागवतको रूपमा सृष्टिको सूत्र बताउनु भयो । यही चार श्लोकको व्याख्या नै श्रीमद्भागवत हो । जुन यस प्रकार छ:

भगवानले भननुभयो :

अहमेवासमेवाग्रे ............ यत्स्यात् सर्वत्र सर्वदा ।।

१. यो संसारमा जब केही थिएन, त्यसबेला म थिएँ । संसार छ, म पनि छु । प्रलयकालपछि यहाँ केही हुने छैन तर पनि म हुनेछु । (यहाँ जे छ त्यो सबै म हुँ । म अमर छु र रहन्छु । भूत, भविष्य र वर्तमान मै हुँ ।) म अर्थात् त्यो शक्ति महाकाल हा, जो अविनशी छ ।

२. जे सत्य छ त्यो देखिँदैन । जे देखिन्छ त्यो सत्य होइन । यो माया हो ।

३. जसरी परमाणुदेखि सबै पदार्थभित्र पञ्च महाभूत कार्य र कारण भावले प्रविष्ट(घुसेर रहनु) वा अप्रविष्ट(छुट्टै) रहन्छ त्यसैगरी संसारका सबैपदार्थमा म प्रविष्ट वा अप्रविष्ट रहन्छु । यही क्रमले नै मेरो सत्ता चल्दछ ।

४. यो आत्मा तत्व जिज्ञासुका लागि जान्न लायक छ । अन्वय र व्यतिररेकद्वारा सबै ठाउँमा सधैभरि रहिरहन्छ । अन्वय र व्यतिरेकको अर्थ मिलाउने र भत्काउने (सृजना र नास हुने) हो । संसार यसैगरी चलेको छ ।

बृहदारण्यक उपनिषद् भन्छ – बह्मका दुई रूप छन्, मूर्त पनि हो र अमूर्त पनि, नष्ट हुन पनि सक्छ र नहुन पनि सक्छ, भौतिक पदार्थको रूपमा पनि आउँन सक्छ र अभौतिक चेतनका रूपमा पनि आउन सक्छ । बह्म सृष्टि कालमा दुवै रूपमा, स्थिति कालमा मूर्तरूपमा र  लय कालमा अमूर्त रूप वा आफ्नो इच्छाले कुनै बेलामा पनि साकार र निराकार हुन सक्छ ।  अर्थात् परमात्मा म्याटर पार्ठिकल (सगुण) र गड पार्टिकल्स (निर्गुण) दुबै ब्रह्मरूप हुन् । यसमा परमात्माको सगुन र निर्गुण रूप दुबैमा अभेद्य सम्बन्ध हुन्छ । यसले जड र चेतनको अभेद्य सम्बन्ध छ भन्ने पुष्ठि हुन्छ, जो परमात्मा एकै समयमा साकार र निराकार रूपमा पनि सर्वत्र उपस्थित हुन सक्छ र सम्पूर्ण सृष्टिमा व्याप्त हुन्छ । आफ्नो सर्वव्यापकता कायम राख्न कहिले निराकार कहिले साकार तथा कहिले निराकार र साकार हुनु पनि आवश्यक छ । यो सानोमा अति सानो र ठुलोमा अति ठुलो दुवै रूपमा हुनसक्छ । श्रुतिमा भनिएको छ —ब्रह्म एक थियो, उसैको इच्छाले एकबाट अनेक सृष्टि भयो । छान्दोज्ञ उपनिषद् भन्छ —म एक हुँ अनेक बन्न सक्छु । जसरी बिउ एउटै हुन्छ तर समय पुगेपछि एकबाट धेरै बन्छ । पहिले अङ्कुर फुट्छ, त्यसपछि यो काण्ड, हाँगा, पात, फूल, फल र अन्तमा बिउको रूपमा पहिलेको भन्दा धेरै हुन्छ । प्रत्येक बीउ मूल बिउ जस्तै हुन्छ तर सबै अङ्ग बिउबाटै बनेको हो भन्ने भान हुँदैन । त्यसैगरी ब्रह्मबाट संसार, रुख, पशु, पंक्षी आदि आएका छन् तर अनुभव गर्न सकिँदैन । वृहदारण्य उपनिषद्(५।७।१) यो पनि भन्छ — विद्युत् बह्म हो ।  

कारणविना कार्य सम्भव हुँदैन । तपाईले माटोको घैटो देख्नुभयो भने तीन वटा कुरा स्विकार्नुपर्छ, घैँटो, माटो र बनाउने मान्छे । घैटो कार्य भयो माटो र मान्छे कारण हुन् । यिनलाई शास्त्रमा माटो उपादान कारण र बनाउने मान्छे निमित्त कारण भनिन्छ । परमाणु पनि कार्य भयो, यसका पार्टिकल्सहरू र यसलाई चलाउने शक्ति यसका कारण भए जो आफ्नो कर्ममा लागिरहन्छ, यो उसको धर्म हो । संसारका सबै पदार्थहरू गतिशील छन् । यसलाई चलाउने चेतन तत्व निमित्त कारण यसैभित्र प्रविष्ट वा अप्रविष्ट रहेको हुन्छ । जड र चेतन कुन पहिले जन्म्यो भन्न मिलदैन ।

अब वैज्ञानिककै कुरा गरौँ– न्युटनकै भनाइमा विनाशक्ति गति परिवर्तन हुँदैन । विचार गरौँ, बह्माण्डमा रहेको त्यो शक्ति के हो ? आइन्स्टायनको सापेक्षता वादले बताए अनुसार संसारका कुनै पनि पदार्थ र शक्ति निरपेक्ष हुँदैनन्, सापेक्ष हुन्छन्  अर्थात् संसारका हरेक वस्तु आफू स्वतन्त्र नभएर अर्कासित सम्बद्ध हुन्छ भनेका छन् । यसरी हरेक वस्तुलाई एकअर्कासित सम्बद्ध गराउने तत्व के हो ? त्यो चेतन तत्व हो । स्टेफेन हकिङ भन्छन्– ब्रम्हाण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै विन्दुबाट भएको होे र त्यसको अन्त्य पनि यसै बिन्दुमा हुन्छ । उनले यसलाई ब्ल्याकहोल नाम दिएका छन् । अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक वस्तु खुम्चिएर रहेको हुन्छ अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ । यही खुम्चिएर शूक्ष्म रूपमारहेको हरेक पदार्थ महाविस्फोटपछि संसारको रचना हुन्छ भनी उनले बताए । ५

४. आधुनिक विज्ञानसँग वेदको तुलना :

जर्मन वैज्ञानिक म्याक्स प्लांकले क्वान्टम फिजिक्सको सिद्धान्त दिएका थिए । सत्येन्द्र नाथ बोसले आइन्स्टायन लगायत धेरै वैज्ञानिकसँग मिली अनुसन्धान र अध्ययन गरी उक्त सिद्धान्त पुष्ठी गरे । यसै आधारममा २०१२मा नोबल पुरस्कार विजेता भौतिक वैज्ञानिक पिटर हिग्सले पदार्थमा दुई किसिमका कण रहेका हुन्छ भन्छन् । 

१. म्याटर पार्टिकलस

२. इनर्जी पार्टिकल्स

यीमध्ये उनले द्रव्यमान हुने म्याटर पार्टिकलसको नियन्त्रक प्राथमिक कण जसको द्रव्यमान छैन, उक्तकणलाई शक्ति तत्व वा ईश्वरीय तत्व गर्ड पार्टिकलस नाम दिएका थिए । अर्काेतर्फ  म्याटर पार्टिकलस

 टुक्रा गर्दा इलेक्ट्रोन, प्रोटोन, र न्युट्रोन देखिन्छ । उनले यिनीहरूलाई पनि टुक्रा गर्दा यी इलेमेन्टरी पार्टिकलहरू अप्क्वार्ड र डाउनक्वार्ड मिली बनेको पत्ता लगाए । जसको व्याख्या क्वान्टम फिजिक्सले गर्दछ । श्रीमद्भागवतसँग तुलना गर्दा सृष्टिका दुई कारणमध्ये निमित्त र उपादान एकै परमात्माबाट विभाजित हुन् । त्यसमा एउटा उपादान र अर्को  निमित्त कारण  एकै परमात्माका अव्यक्त र व्यक्त रूप हुन् । यसले चेतना र पदार्थ दुवै परमात्माका रूप रहेको पुष्टि हुन्छ ।

शास्त्र र विज्ञान दुवैलाई मिलाएर हेर्ने हो भने यो खुम्चिएर रहेको वीज बिन्दु जो विकिरण उत्सर्जन हुने गर्दछ, उपादान कारण हो । ब्ल्याक होलको रूपमा रहेको परब्रह्म स्वरूप निमित्त कारण हो । गीतामा भगवानको नाम कृष्ण हुनु र यसको विरट रूपले सपूर्ण सृष्टि निलेको देखाउनुले यही पुष्टि गर्छ । यही ब्ल्याकहोलभित्रको शक्तिपुञ्ज नै संसार रचनाको मूल कारण वा महाकाल हो । पदार्थ एउटा नष्ट भएपछि मात्र अर्को जन्मन्छ । माक्र्सद्वार भनिएको निषेधको निषेध शिद्धान्त पनि यही हो । अब कहाँ ज्ञान र विज्ञानलाई छुट्याउन मिल्ला त ! दुबैको समान अस्तित्व छ ।

१९८० को दशकमा रुसको लेभेदेव भौतिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक आन्द्रेई लिन्डेले ब्रह्मान्ड एक मात्र नभएर धेरै सङ्ख्यामा भएको बताएका थिए । सन् २०२२मा क्वान्टम फिजिक्समा नोबेल पुरस्कार प्रप्त गर्ने तीन जना वैज्ञानिक एलेन एस्पेक्ट (फ्रान्स), जोन एप. क्लाउजर (अमेरिका) र एन्टन जेलिङ्गर (अष्ट्रिया)लाई क्वान्टम सूचना विज्ञानका लागि यो पुरस्कार दिइएको हो । उनीहरूले क्वान्टम विज्ञानमा अनुसन्धान गर्दै यो कुराको नजिक पुगे ‘द युनिभर्स इज लोकल्ली नट रियल ।’ अर्थात् ब्रह्माण्ड सत्य होइन, एकै समयमा एउटै वस्तु दुईतिर देखिन सक्छ एउटा भौतिक रूपमा र अर्को तरङ्गको रूपमा र सबैभन्दा छोटो समयमा लामो यात्रा गर्ने प्रकाश होइन, सूचना हो । जसलाई उनीहरूले टेलिपोर्टेशन नाम दिएका छन् । यो कुरा खप्तडस्वामीले विचारविज्ञानमा व्याख्या गरिसक्नुभएको थियो ।  क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा.रोबर्ट लेन्जद्वारा लेखिएको ‘बायोसेन्ट्रिज्म : हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेका छन् । मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । बायोसेन्ट्रिज्मले के भन्छ भने जीवन र चेतना मौलिक हुन् । यही चेतनाले भौतिक ब्रह्माण्ड निर्माण गर्दछ । अर्थात् पदार्थले मात्र ब्रह्माण्ड बनेको होइन, ईश्वरले ब्रह्माण्ड बनाएको हो । उनको कथनअनुसार पदार्थको निर्माण पहिले नै चेतना अस्तित्वमा थियो । जब स्थान र समय नहुँदा पनि चेतना रहन्छ । बायोसेन्ट्रिज्मले क्वान्टम मेकानिक्सलाई आधार मानेर भन्छ – चेतनाको कहिल्यै मृत्यु हुँदैन । यो त केवल विचार हो किनभने मानिसले आफ्नो शरीरबाटै स्वयंको पहिचान बनाउँछ । शरीर नष्ट हुन्छ तर चेतना जीवित रहन्छ । यी कुरा प्रमाणित गर्दै गर्दा उनीहरूले पौरणिक शास्त्रमा उल्लेख गरिएका ‘अन्तर्ध्यान’, ‘संसार माया हो’, ‘टेलिपेथी’, ‘आत्मातत्व अमर छ’ जस्ता (जुन धर्म ग्रन्थान बताइए अनुसारका) धेरै कुरा प्रमाणित गर्न मद्दत गर्छ । 

५. वेदमा भएको विज्ञान हेरौँ :

सूर्यले गर्ने प्रकाशसंस्लेषणको सङ्केत गर्दै भनिएको छ –अग्निदेव(सूर्य)ले औषधी (वनस्पति)मा आफ्नो महत्ता स्थापित गरेका छन् । उनी बोटबिरुवा र फलफूल उत्पन्न गर्छन्।     –ऋग्वेद १ ।६७ ।९

–कालको प्रेरणाबाट नै वायुदेव प्रवाहित हुन्छन्, पृथ्वी गतिमान (motion) हुन्छ । विशाल दिव्यलोक पनि कालमा नै आश्रित छ । – अथर्व वेद १९ ।५५ ।२

सूर्यमा सात ओटा विशेष रङहरू हुन्छ भनेर सबैभन्दा पहिले न्युटोनले पृज्मको माध्यमबाट प्रकाश छिराएर वर्णपटमा प्रस्ट पारेका थिए । तर यो महान विज्ञान हाम्रो वेदले पहिले नै उजागर गरेको थियो ।

–हे प्रकाशक सूर्यदेव १ सुद्द गर्नेवाला सात रङको सात किरण(घोडा)ले तपाईंको रथ (भेलोसिटी)लाई लियर जान्छ –सामवेद ६ ।५ ।१४

–जल तातेर माथि उठ्छ र वर्षाको रूपमा तल आउछ ।– ऋग्वेद १ ।१६४ ।५१

–सूर्यका किरणले जलधारा बग्दछन । –ऋग्वेद १ ।१६४ ।४२

 –हे सूर्यदेब! जब तपाईं आफू, आफैले प्रकाश दिने चन्द्रमाद्वारा छेकिनु हुन्छ त्यतिबेला यो सारा पृथ्वी अन्धकारमा रुमलिन्छ ।– ऋग्बेद ५ ।४० ।५

–अन्तरिक्षमा चन्द्रमा र सूर्य दौडिराखेको छ । –अथर्व वेद १८ ।४ ।८९

परमाणुबाट नै सब थोक सृजित र नष्ट हुन्छ । पृथ्वी शून्यमा अडिएको छ । अहिलेको विज्ञानले पनि धेरै समय पछिको अभ्यासपछि यो कुरा पत्ता लगायको छ कि सृष्टिको हरेक कुरा परमाणुको संयोग र वियोगबाट हुन्छ । कुनै पनि वस्तुको संरचना नष्ट हुनु र पुनः नयाँ बन्नुमा परमाणुको नै हात हुन्छ । त्यस्तै अहिले को विज्ञानले यो पनि प्रस्ट गरेको छ कि पृथ्वी बिनाआधार शून्यमा अडिएर रहेको छ । यो बिनाआश्रय रहेको छ । यस्तो महान्, अकल्पनीय तथ्यको परिकल्पना हाम्रो वेदले पहिले नै गरिसकेको थियो । डाल्टन जन्मनुभन्दा ३००० वर्ष पहिला कणदले परमाणुका बारेमा खोजी गरिसकेका थिए ।

खगोल सम्बन्धी अध्ययन गर्ने कोपरनिकस, ग्यालिलियो, केप्लर भन्दा हजारौँ वर्ष अघि हाम्रा पुर्खाले यसको पुष्टि गरिसकेका थिए । सन् ४७७मा जन्मेका आर्य भट्टले पृथ्वीको गति चन्द्रममाको गति, सूर्य वा चन्द्रग्रहणको सिद्धान्तबारे गोलपादमा लेखिसकेका थिए । ज्यामितीय गणितमा पाइथागोरसभन्दा २०० वर्षअघि जन्मेका बौधायनको शूल्व शूत्रमा समकोणी त्रिभुजको कर्णको वर्ग बराबर अरु दुई भुजाको वर्गको जोड हुन्छ भनी सिद्ध गरिसकेका थिए । बौधायनले ∞  र ℼ को मान पनि पत्ता लगाइसकेका थिए । यसको खोजी नै नगरी पाइथागोरसलाई त्रिकोणमितिका प्रथम सिद्धान्तकार मान्दै आइएको छ ।

वैदिक कालमै जसलाई जोड्दा, घटाउँदा, गुणन गर्दा उही आउँछ, अर्को आश्चर्य जसलाई त्यसैले भाग गर्दा भागफल अनन्त आउँछ भनी शून्यलाई पूर्ण ब्रह्मको रूपमा व्याख्या गरिसकिएको थियो । यसलाई पछि आर्य भट्टले व्याख्या गरेका थिए । यसबाहेक एउटा उल्लेख गर्नै पर्नै गुरुत्वाकर्षणको नियम हो । न्युटन जन्मनुभन्दा हजारौ वर्ष पहिले पृथ्वीको गुरुत्वबलका बारेमा वैशेषिक दर्शनमा महर्षि कणादले स्पष्ट रूपमा विज्ञानसम्मत ढगले यसको बारेमा बताएका छन् । उनी लेख्छन् ।

–संयोगाभावे गुरुत्वात्पतनम् (वैशेषिक दर्शन ५ ।१ ।७ ) अर्थात् संयोग नहुने हुँदा द्रव्य गुरुत्वको कारणले पतन हुन जान्छ, तलतिर खस्न जान्छ । अपां संयोगाभावे गुरुत्वात् पतनम्  (५ ।२ । ३) अर्थात् जलमा संयोगको अभाव हुँदा गुरुत्वको कारणले जल तलतिर खस्छ । वा संस्काराभावे गुरुत्वात् पतनम् ।। (५ ।१ ।१८) अर्थात् संस्कार (गति)को अभावमा गुरुत्वको कारणले (बाँण) तल खस्छ । आशय यो हो कि हामीले धनुषबाट बाँणलाई अति नै तीव्र गतिमा हान्यौ भने त्यो आकाशमा तबसम्म गइरहन्छ जबसम्म त्यसमा गुरुत्वबलभन्दा बढी शक्ति (वेग) हुन्छ, तर जब त्यसको वेगमा ह्रास आउँछ तब त्यस बाँणमाथि गुरुत्वबलको प्रभाव पर्छ र त्यो बाण तल खस्छ । तसर्थ गुरुत्वबलको सिद्धान्तको श्रेय केवल न्युटनलाई मात्र दिने र यस्तो किसिमको खोज केवल युरोपेलीहरूको मात्र हो भनी लालबुझक्क नबनौँ । हाम्रो मूमिमा ज्ञान र विज्ञानवहस र शास्त्रार्थ गर्दै गर्दा पश्चिमी संसारमा आदिमानवहरू भ्याकुर खोज्न लडाई यर्दै हुन्थे । जनकपुर ज्ञानविज्ञानको केन्द्र थियो । वेद नेपालमा बनेको हो भन्ने कुरा स्विकार्ने हो भने विश्वको महान् देश नेपाल र महान् मान्छे नेपाली हुन् भनी विश्वले स्विकार्नु पर्छ । विज्ञानको चरम विकास हुँदा त्यो अवश्य स्विकारिनेछ ।

६. अब यातायातको कुरा गरौँ  :

“शिल्पकर्ममा पारङ्गत हे बलशाली स्त्रीपुरुष हो ! तल, माथि र बीच तीनै ठाउँमा बन्धन भएको, बाज जसरी उड्ने, वायुको जस्तो वेग भएको, मनुष्यको मनभन्दा पनि तीव्र गतिवाला, अत्यन्त आरामदायी र सबै सुविधाले परिपूर्ण, तिमीहरूको यो जुन ‘रथ’ छ त्यसलाई जमीनमा ओराल ।” (ऋग्वेद–१।११८।१)  ऋग्वेदको यस मन्त्रले वेदममा विमानसम्बन्धी ज्ञानको अवधारणा भएको र त्यसको प्रयोग पहिल्यै थियो भन्ने बताउँछ । वेदकै आधारमा भारद्वाजले बृहद् विमानशास्त्र लेखे । उनले लेखेको पाँचसय प्रकारका विमान बनाउने सिद्धान्तसहितका तीन हजार श्लोकको यो बृहद् विमानशास्त्रमा विमान बनाउने ३२ तरिका उल्लेख गरिएको छ ।

७. नेपालका वैज्ञानिकहरू :

वैज्ञानिकहरू नेपालमा जन्मदैनन् ? राज्यसत्ताले वैज्ञानिकहरूको भ्रूणमै हत्या गर्छ । धादिङमा विसं १९०७मा जन्मिएका विमान पण्डित अच्युतानन्दले वनारसमा पढेर दसौँ वर्ष लगाएर वाफ इन्जिनले चल्ने गाडी बनाई कुदाएर वीरसमशेरबाट पुरष्कार खाएछन् । पछि उनले दिएको पुरसकार १० हजार रुपयाँमा थपथाप गरी बिसौ वर्ष लगाएर विमान बनाएछन् । उनले परीक्षण गर्न लागेको उक्त विमान चन्द्रसमशेरका सरकारी पुलिसले सरकारलई जाहेर नगरी बनाएको भनी जफत गरी जलाइदिएपछि उनी विक्षिप्त भएछन् । वीर समशेरका छोरा गेहेन्द्र शमशेर, धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मी साह, मङगल ग्रहमा पानीको खेजी गर्ने लुझेन्द्र ओझा, रुइतेक्टोमीका प्रवर्तक सन्दुक रुइत नेपाली आमाका सन्तान होइनन् र ?

विमानकै कुरा गर्दा अच्यूतानन्द ओलीकै समयका संस्कृत अध्येता मराठा शिवकर बाबुजी तलपदेले भरतद्वाजको उक्त पुस्तक पढेर मुम्बईको समुद्री किनारमा सन् १८९५ मा १५०० फीटमाथि विमान उडाएर सकुशल अवतरण गराएका थए । अङ्ग्र्रेज सरकार प्रतिनिधी ‘रेल्ली ब्रदर्स’ नामको संस्थाले हामी तपाईंलाई सहयोग गर्छौ भनी सबै सूत्र र सानग्रीहरू जफत गरी लगे, पछि कहिल्यै दिखएनन् । यसको आठ वर्षपछि पहिलो पटक १९६० पुस २गते १७ डिसेम्बर सन् १९०३मा अमेरिकाको साउथ क्यारोलिनाको समुद्री किनारमा राइट ब्रदर्सको नामबाट सबैभन्दा पहिला १२० फिटमाथि हवाईजहाज उडाएर ओराले । पहिलो विमाननिर्माता को हो ?, किन यस्तो भयो ? रेल्ली ब्रदर्स चोर हो कि हौइन, म भन्न सक्दिन । यसको समीक्षा पाठकमै छोडिदिऊँ ।

८. स्वास्थ्यमा वेद :

स्वास्थ्यका कुरा गर्ने हो भने नेपालमा आयुर्वेदिक उपचार व्यवस्था छ । यहाँ मृतसञ्जीवनी पाइने र यसको प्रयोग गरिने कुरा शास्त्रमा पाइन्छ । प्रचलित आयुर्वेद चिकित्सा शास्त्रमा उपचार नहुने रोगै हुँदैन भनिन्छ । त्यसैले मृगी, जन्डिसजस्ता रोग पनि यसै पद्धतिद्वारा उपचार गरिन्छ । यसमा मानव शरीरमा रोग लाग्ने मुख्य आठ अड्गको उपचारबारे वर्णन पाइन्छ । एलोपेथिक उपचारले छुन नसकेका मनोरोगसँग सम्बन्धित उपचारका लागि भूतविद्या यस चिकित्सामा प्रचलित छ । आयुर्वेदमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिंदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्रकृति अनुरूप उपचार गरिनु पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैँमा तागत वा रसायनको पोषण प्रदान गर्ने, विरामी र स्वस्थ व्याक्तले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । यो विश्वले नेपालबाट सिक्नुपर्छ ।

९. हाम्रा ग्रन्थ बारे पश्चिमी विद्वानको धारण :

प्रसिद्ध अमेरिकी कवि, नाटककार र दार्शनिक टिएस एलियट भन्छन्, ‘‘पूर्वीय दार्शनिकहरूको विलक्षणताको तुलनामा महान् युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् ।’’

आइन्स्टाइन भन्छन् –‘‘हामी पूर्र्वीय जगत्प्रति चिर ऋणी छौँ, किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्योबिना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन ।”

गीताको महिमा गान गाउँदै जर्मन दार्शनिक हुम्बोल्ट भन्छन्, – “कुनै मानव भाषामा उपलब्ध मानव जातिले गौरव गर्ने संसारलाई देखाउन मिल्ने अत्यन्त गम्भीर र महिमाशाली वस्तु नै गीता हो ।”

सत्रौँ शताब्दीमै भोल्टेयरले भनेका थिए— ‘‘म विश्वस्त छु कि हाम्रोमा सबै कुरा गङ्गाको तटबाटै प्राप्त भएको हो (खगोलशास्त्र, ज्योतिषशास्त्र, आध्यात्मविद्या सबै सबै । यो विशेष उल्लेख्य कुरा छ) पच्चिस सय वर्षअघि ग्रिसको समोस टापुका पाइथागोरस ज्यामिति सिक्नका लागि गङ्गाजीसम्म पुगेका थिए । ब्राह्मणहरूका विज्ञानको यश धेरैअघि युरोपमा स्थापित भइसकेको भए । उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला ।”

प्रसिद्ध जर्मनेली विद्वान् पौल डुसेनले भनेकका छन्— “वैज्ञानिक मस्तिष्कको आविष्कार जेसुकै होस्, उपनिषदले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्तैन ।”

सन् १९३३का नोबेल  पुरसकार विजेता अर्विन श्रोडिङ्गरले भने,– “पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्ताल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्ताधान आवश्यक भएको छ ।”

वेदान्तको महत्व देखाउँदै अल्फ्रेड नर्थ ह्वाइटहेडले भने,— “वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्वाधिक प्रभावशाली तत्वमीमांशा हो ।”

महान अमेरिकी कवि राल्फ वाल्डो इमर्सनले भन,— “वेदहरूले मलाई पछ्याइरहन्छन्, मैले त्यहाँ अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छिन्न शान्ति प्राप्त गरेको छु ।”

अर्का क्वान्टम फिजिक्सका विद्वान ज्याक सर्फातीले भनेका छन्,—“भारतवर्षको साङ्ख्य दर्शन नै सम्पूर्ण सृष्टिको आधार हो ।” यहाँ भारतवर्ष भनेको नेपालै हो भन्ने कुरा माथि बताइउको छ ।

यहाँ जे जे चर्चा गरियो माथि बताइएका विषयभन्दा बाहेक धेरै विषय छन् । मानसिक र शारीरिक स्वास्थ्यका लागि योगको प्रयोग, प्राकृतिक चिकित्सा पद्धति, ढुङ्गा र काठमा भएको आगो निकाल्ने कुरा, पानी वा मेघमा भएको विद्युतको व्याख्या हाम्रो वेदले हज्जारौ वर्ष पहिले गरिसकेको थियो । यसको चर्चा यस लेखमा सम्भव भएन मौका मिले पुनः लेख्नेछु ।

निष्कर्ष :

अन्त्यमा वेद र उपनिषदहरू धर्मग्रन्थम मात्र होइनन् विज्ञान हुन् । यो केवल ब्राह्मणहरूले पढ्ने कर्मकाण्डीय विद्या मात्र सम्झनु मुर्खता हुनेछ । अझै ग्यालिलियो र कपर्निकसले पृथ्वी गोल छ भन्दा यातना दिएर मार्ने, पृथ्वी चेप्टो नमानेको र कपर्निकसका कुरालाई नै समर्थन गरेको अरोपमा गिआर्डिनो ब्रुनोलाई पनि  जिउँदै जलाएर मार्ने, चर्च र बाइबलमै विश्वास गर्नेहरूकै शासन चल्यो भने त खै के होला भन्न सिकिँदैन । होइन भने नेपालमा अबको शिक्षा पूर्वीय ज्ञान र पश्चिमी प्रविधि र पद्धतिमा आधारित हुनुपर्छ । यदि राजनीतिक अस्थिरता, साँस्कृतिक सामाजिक विभेद देखाई  विकास  गर्ने बहानामा छिर्ने र डिभाइड एन्ड रुलको सिद्धान्त लागु गरी परोक्षरूपमा शासन गर्ने लुटेराहरूले भूगर्भ भित्रको  खजाना बिरालाले दुध चोरेझैँ निखारिदिएनन् भने यो देश तीन ‘ज’ (अर्थात् जलबाट विद्युत्, जमिनबाट खनिज, ज्ञानको अनुषन्धान)बाट देश विश्वको सबभन्दा धनी मात्र नभई शक्तिशाली र उदाहरणीय बन्न सक्ने छ । तर एउटा निस्वार्थ देशभक्त शासक जन्मनुपूर्व देशको अस्तित्व सङ्टमा पर्ने हो कि ? यस्तो नहोस् । हामी यही कामना गरौँ । वैज्ञानिक अनुसन्धान बढ्दै जाँदा विश्वको ज्ञानविज्ञानको केन्द्र यही बन्न पनि बेर लाग्दैन । अबको नेपाल बत्तीमुनिको अँध्यारो बन्नु हुँदैन । यहाँ ज्ञानको कमी छैन सरकार गतिलो भए यहीँ वैज्ञानिक जन्मन्छन्, यहीँ दार्शनिक जन्मन्छन्, यहीँ विशेषज्ञहरू जन्मन्छन् । अहिलेको विश्वको दाँजोमा जान नसकिने भन्ने छ र ? अन्तर्राष्ट्रियस्तरको ज्ञानविज्ञानको अनुसन्धान केन्द्र यही बन्न पनि सक्नेछ । यसका लागि युवाहरूले सोच्ने बेला आएको छ ।

जय धर्तीमाता !

पाद टिपपणी र सन्दर्भ ग्रन्थ सूची:

१. हिमवत् खण्ड र नेपालका ऋषिमुनिहरू, प्रवीण अधिकारी ।
२. भारतवर्षमा जीससः लेखक, होलगर कष्र्टेन अनुदित सम्पादन ःलोकमणि पौडेल,
३. श्रीमद्भागवत ५।७।३ र .२।९।३२–३५
४. बृहदारण्यक उपनिषद् २।३।१
५. स्टेफिन हकिङको जीवनी , कक्षा १२ नेपाली,
६. द्वयेव ब्रह्मणो रूपे मूर्तं चैवामूर्तं च मत्र्यं चामृतं च स्थितं च यच्च सच्च त्यं च। बृहदारण्यक उपनिषद् २।३।१
७. विद्युद्धये बह्म – वृहदारण्य उपनिषद ५।७।१
८. अणोरणीयान महतो महीयान आत्मा गुहायां निहितोऽस्य जन्तोः । तमक्रतुं पश्यति वीतशोको धातुः प्रसादान्महिमानमात्मनः॥ "He is the tiniest of the tiny, largest of the large" - (Narayanopnishad)
९. एकोहं बहुश्यामः – छान्दोग्य उपनिषद
१०. ऋग्वेद नासदीय सूक्त ३।४
११. दीर्घचतुरस्याक्षणयारज्जु पाश्र्वमानी तीर्यकंमानी च । यत्पृथग्भूते कुरुतस्त दुभयांकरोति । – ०।१२
१२. श्रीमद्भागवत महापुराण
१३. गोलपाद
१४. वैशेषिक शूत्र
१५. शूल्व शूत्र
१६. विचारविज्ञान, खप्तड स्वामी
१७. चतुराधिकं शतमष्टगुणम् द्वाषष्टिस्तथासहस्राणामअयुत द्वयस्य विष्कम्भस्यासन्नो वृत्तपरिणाह ।
१८. संयोगाभावे गुरुत्वाद् पतनम् वा अपां संयोगाभावे गुरुत्वाद् पतनम् ।
१९. https://ne.m.wikipedia.org/wiki/%E0%A4%B9%E0%A4%BF%E0%A4%97%E0%A5%8D%E0%A4%B8_%E0%A4%AC%E0%A5%8B%E0%A4%B8%E0%A5%8B%E0%A4%A8

२०. https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%82%E0%A4%B2%E0%A4%AD%E0%A5%82%E0%A4%A4_%E0%A4%95%E0%A4%A3
२१. https://hindi.news18.com/news/knowledge/satyendra-nath-bose-birthday-great-indian-scientist-who-is-considered-as-father-of-god-particle-5143283.html
२२. https://canadianreporters.com/archives/7902
२३. ­https://gorkhapatraonline.com/news/43256

(Angels' Voice, Vol. 11)

दामोदर शर्मा

नेपाली शिक्षक