पौरस्त्य ज्ञान र नेपाल

Posted on : 26 February 2024
Views : 641

ऋषिहरूको देश नेपाल-

नेपाल प्रचीन कालदेखि शिक्षाको उर्वर भूमि हो । यसै भूमिमा बसेर ऋषिमुनिहरूले वेदको रचना गरे । यसै भूमिमा बसेर पुराणहरू लेखिए । यही भूमिमा अनेक ऋषि र ऋषिकाहरूको जन्म भएको थियो । कैयौं वैदिक ज्ञानका रहस्यहरू नेपालमा मात्र जीवित रहेका थिए । आदि कवि वाल्मीकि, व्यास यहीँका थिए । वेद, महाभारत र आदि महाकाव्य रामायण पनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरू हुन् । वैदिक दर्शनका प्रणेताहरू, जैमिनी, कपिल, गौतम आदि ऋषिहरूद्वारा रचित पूर्व मीमांसा, वेदान्त र न्यायः आदि दर्शन यहीँका उपज हुन् । हिमवत्खण्ड र नेपालका ऋषिमुनिहरू शीर्षक लेखमा प्रवीण अधिकारीका अनुसार (सनातन हिन्दू संस्कार, संस्कृति र दर्शनका जीवन्त कुराहरूले नेपालको कोशी गण्डकी, मिथिला र कर्णाली प्रदेशलाई विश्वसामु चिनाएका थिए । यो विश्वलाई ब्रह्म ज्ञानको जानकारी गराउने स्थल जनकपुर हो । नेपालमा कण्व, विश्वामित्र, पुलह, मौद्गल्य, शृङ्गी, च्यवन, पाणिनि आदिलगायत ऋग्वेदमा रहेका झन्डै ४०० ऋषि र ३० ऋषिकाहरूमध्ये महर्षि गर्गकी छोरी गार्गी, याज्ञवल्क्यकी पत्नी मैत्रेयी, महर्षि अगस्त्यकी पत्नी लोपमूद्रा, ऋषि दीर्घतमाकी नातिनी घोषा, अदिति, जुहू, इन्द्राणी, सूर्या, उर्वशी, अपाला, गोधा, विश्ववारा, विलोमी, सावित्री, कामायनी, देवयानी आदि वैदिककालीन ऋषिकाहरूले मिथिला क्षेत्रलाई जीवन्त तुल्याएका थिए । ऋषि वशिष्ठ र अष्टावक्रको पहिलो वेदान्त प्रवचनस्थल जनकपुर थियो । त्यसबेला ज्ञान विज्ञानको खोज र चर्चा हुने गर्थ्यो । त्यति बेलै विश्वब्रह्माण्डदेखि परमाणुसम्मको अनुसन्धान भइसकेको थियो । योगवाशिष्ठममा भनिएको छ- “प्रत्येक अणुको रिक्तताभित्र अरू विशाल विश्व छन्, ती एउटा सूर्य किरणमा विद्यमान विन्दुझैँ वहुविध छन् ।” आज आएर विज्ञानले त्यो तथ्यलाई नै स्वीकार गरिसक्यो ।

नेपाल ऋषिहरूको तपस्थली भएकाले विश्वका कुनै पनि सन्तहरू नेपालमा आएर सिद्धि प्राप्त गरेका प्रमाणहरू छन् । नेपालमा इसामसिहाले महत्वपूर्ण आफ्ना ६ वर्ष बिताएका थिए (भारतवर्षमा जीससः लेखक, होलगर कर्टेन अनुदित सम्पादन लोकमणि पौडेल) भने शैव, बोन, किराँत र बुद्धधर्मको जन्म पनि नेपालमै भएको थियो । यहाँका सबै ऋषिहरूको नाम मात्रै उल्लेख गर्न पनि धेरै पाना खर्च गर्नु पर्ने हुन्छ । यहाँका राजा राज्य त्यागेर ऋषि बन्छन् । जनक, विश्वामित्र र गौतम बुद्ध यसका उदाहरण हुन् ।

भारतवर्षको केन्द्र महाभारत-

पौरस्त्य ज्ञान र भारतवर्षको कुरा गर्दा कतिपय व्यक्तिले भारतको गुनगान गाउने नेपाली हुन सक्दैन भन्ने गर्छन् । तर म भन्छु- भारत हाम्रो हो, हामीले अफ्नो जोगाउन नसकेका हौं । प्राचीन सांस्कृतिक भारत दक्षिण एसियाका इरान, अफगानिस्तानदेखि बर्मा, थाइल्यान्ड, लङ्कासम्म फैलिएको वृहत् भूभाग थियो । यसको नाम थियो भारतवर्ष । यो नाम महाभारतमा जन्मेका ऋषभदेवका छोरा भरतको नामबाट रहेको इतिहास पुराणले बताउँछ (हे.श्रीमद्भागवत् महाँपुराण पञ्चमस्कन्द) महाभारत नेपालको चुरे पहाडभन्दा माथि रहेको पहाडी भूभाग हो । जसको राजधानी भरतपुर थियो । यसबाहेक विश्वको कुनै ठाउँमा भारत भन्ने ठाउँ सायद भेटिंदैन होला । हाम्रा महाकवि देवकोटा भन्नुहुन्छ- “हाम्रो भारतवर्षको उदयको हैम प्रभा सारको ।” (शाकुन्तल महाकाव्य) त्यसैले भारत हाम्रो थियो भन्न किन हिचकिचाउनु पर्छ ?

ज्ञानको मूल भारतवर्ष-

शिक्षाको प्रसङ्ग चल्दा एक जना उच्चशिक्षा प्राप्त व्यक्तिले भन्नुभयो- प्रचीन कालमा पढ्ने ठाउँ त थिएन नि हगि ? तक्षशीलाको नाम सुनिन्छ, यो कथा हो कि कतै थियो ? मैले जवाफमा भनें- कस्तो विडम्बना, यो हाम्रा लागि कथा भयो तर यथार्थमा हालको पाकिस्तानमा रहेको अत्यन्त उन्नत विश्वविद्यालय हो यो । यहाँ नेपालका पाणिनिलगायत धेरै गुरुहरू शिक्षक थिए । तुर्केली मुसलमानहरूले ज्ञानको केन्द्र ध्वस्त नगरेसम्म धर्मविस्तारको योजना पूरा नहुने देखी सातौँ शताब्दीतिर यसलाई ध्वस्त गरियो ।

धर्मयुद्धले थलिएको युरोपमा चौधौं शताब्दीपछि पुनर्जागरणको युग सुरु भयो । पुनर्जागरण कालले हरेक क्षेत्रमा परिवर्त ल्यायो । विभिन्न देशमा विभिन्न क्रान्तिहरू भए । त्यसपछि विस्तारै शिक्षामा पनि क्रान्तिकारी परिवर्तन अउन थाले । प्रकृतिवादी विचारधारामा मानव स्वतन्त्रतालाई विशेष जोड दिने रुसो एक महान अग्रगामी थिए जसले शिक्षाको क्षेत्रमा मनोवैज्ञानिक, सामाजिक र वैज्ञानिक प्रवृत्तिलाई जन्म दिए । यथार्थवादको उदयसँगै शिक्षामा नयाँ उद्देश्यहरू ल्याइयो र बालबालिकाको भावी जीवन सुखी बनाउन आवश्यक पर्ने कुराहरूलाई महत्व दिइयो । पाठ्यक्रममा विज्ञानले महत्वपूर्ण स्थान पायो । वर्तमान युगको व्यवहारवादी दार्शनिक विचारधारा अमेरिकामा फैलियो । रुसो, फ्रोबेल, पेस्टालोजी, मोन्टेसरी आदि पश्चिमी विद्वानहरूद्वारा प्रगतिशील शिक्षाको विचारलाई जोड दिइएको छ । पेस्टालोजीले शिक्षामा मनोवैज्ञानिक सिद्धान्तहरू प्रयोग गरेर बाल केन्द्रित शिक्षामा जोड दिए भने फ्रोबेलले किन्डरगार्टन शिक्षा प्रणाली प्रस्तुत गरे । मोन्टेसरीले मानसिक रूपमा कमजोर बालबालिकाका लागि विशेष काम गरेर बाल मनोविज्ञानमा आधारित मोन्टेसरी विधि सिर्जना गरे । रसेलले आदर्शवादी र व्यावहारिक तत्वहरू समावेश गरेर शिक्षाको विस्तृत योजना प्रस्तुत गरी व्यक्तिवादी शिक्षामा जोड दिए । यसै गरी हर्बर्ट स्पेन्सरद्वारा शिक्षामा वैज्ञानिक यथार्थवादलाई प्रतिपादन गरी शिक्षाको क्षेत्रमा वैज्ञानिक विषयहरूको  उपयोगिता र जीवनमा खुसी दिने विषय मात्र पढाउनमा जोड दिइयो । यसरी पश्चिमी शिक्षाले वर्तमान शिक्षा प्रणालीमा नेपालजस्तो देशमा पनि व्यापक प्रभाव पार्‍यो । शिक्षा सुधारका लागि संसारभरि अपनाइएका यस्ता धेरै विधिहरूको प्रयोगले पश्चिमी शिक्षाको प्रभाव विश्वको शिक्षा प्रणालीमा प्रष्ट देखिन्छ । नेपालमा नयाँ लाग्ने यी विधिहरू सिद्धान्ततः प्राचीन कालमा भारतवर्षमा प्रयोग भइसकेका थिए । यहाँ त पहल्यिै योभन्दा पनि धेरै विकास भइसकेको थियो ।

पश्चिमी विद्वानको विचार-

पश्चिमी संसारको कुरा गर्ने हो भने इ.पू. ५००देखि नै दक्षिण युरोपको युनानमा शिक्षाको प्रभाव राम्रो थियो । यहाँका विद्वान् दार्शनिकहरू अरस्तू, प्लेटो, पाइथागोरस, थेल्स मिलेटस तथा सुकरात जस्ता दार्शनिकहरूले सबै क्षेत्र उजिल्याउने काम गरिरहेका थिए । दार्शनिक प्लेटोले आदर्शवादको प्रतिपादन गरेका थिए । उनले पाश्चात्य संसारमा एकेडेमी नामको विद्यालय स्थापना गरी आदर्शवादी शिक्षाको प्रयोगात्मक पढाइ दिएर सुयोग्य शिक्षकको परिचय दिएका थिए । पश्चिमाहरूको खोज र पढाइ भारतीय शिक्षाभन्दा बिलकुल भिन्न थिएन । पाइथागोरसले त भारतमै अध्ययन गरेको कुरा भेटिन्छ । त्यसैले प्रसिद्ध अमेरिकी कवि, नाटककार र दार्शनिक टिएस एलियटले पूर्वीय दार्शनिकहरूको विलक्षणताको तुलनामा महान् यूरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् भनेर उसै कहाँ भनेका हुन् र ?

जर्मन दार्शनिक हुम्बोल्टले गीतालाई मानव जातिले अत्यन्त गौरव गर्नलायक ग्रन्थ भनी महिमा गान गाए भने सत्रौं शताब्दीमै भोल्टेयरले गङ्गा तटको महिमा गाउँदै पश्चिमी संसारले सबै कुरा गङ्गाको तटबाटै प्राप्त गरेको स्विकारे । जस्तै खगोलशास्त्र, ज्योतिषशास्त्र, आध्यात्मविद्या सबैसबै । अझ उल्लेख्य कुरा पाइथागोरस ज्यामिति सिक्नका लागि गङ्गाजीसम्म पुगेका कुरा ।

कालीदासको महाकाव्य शाकुन्तलको चर्चा गर्दै अठारौं शताब्दीका विद्वान् अनुवादक सर विलियम जोन्सले भनेछन् - “जब-जब हामी पूर्वीय साहित्यतिर ध्यान दिन्छौँ, त्यसबेला हाम्रो सामू अनन्तताको भावना स्वतः खुल्दछ ।”  शाकुन्तलको अनुवादले सम्पूर्ण युरोप रसाएर आयो, उनीहरू साँच्चै छक्क पर्दै गए, वशिभूत हुँदै गए । अर्का विद्वान् फ्रेडरिक सिलर जर्मनी पुगेपछि अन्यन्तै उद्वेलित हुँदै गर्जिएछन्- “सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजसम्ममा अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलको नजिक पुग्ने कुनै कृति रचिएको छैन । आहा, यो सुन्दा पनि कति गर्व लाग्छ ! प्रसिद्ध जर्मनेली विद्वान् पौल डुसेन उपनिषदको महिमा गाएर थाक्दैनन् । सन् १९३३ का नोबेल पुरसकार विजेता अर्विन श्रोडिङ्गर पूर्वीय अध्यात्मको सञ्जीवनीले पश्चिमी विज्ञानलाई बचाउँन खोज्छन् । महान अमेरिकी कवि राल्फ वाल्डो इमर्सन र अल्फ्रेड नर्थ ह्वाइटहेड वेदको महिमा गाएर थाक्दैनन् । त्यसैगरी संस्कृतको महिमा गाउँदै फ्रेडरिक भोन स्लेगेलले भने- “यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन ।”

यस्तै मनोवैज्ञानिक कार्ल युङले योगको महत्व दर्शाउँदै भने - “मेरो ज्ञानमा विचार वा शरीर नियन्त्रणका निमित्त योगभन्दा बढी व्यापक रूपले परिचित कुनै प्रणाली छैन ।” यसै गरी बीसौं  शताब्दीका महर्षि वैज्ञानिक आइन्स्टाइनले पूर्वीय जगतप्रति नतमस्तक हुँदै भनेछन् - “हामी पूर्वीय जगतप्रति चिर ऋणी छौं, किनकि उनीहरूले हामीलाई गणित सिकाए, जुनबिना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन ।” अर्का क्वान्टम फिजिक्सका विद्वान ज्याक सर्फाती सम्पूर्ण सृष्टिको आधार साङ्ख्य दर्शनलाई मान्छन् ।

किंवदन्ति अनुसार अलेक्जेन्डर ग्रेट स्कन्दका भक्त थिए उनको यही नामको अपभ्रंशबाट सिकन्दर नाम रहन गएको मानिन्छ, जसका गुरु अरस्तु थिए । स्कन्द शक्तिशाली योद्धा कुमार कार्तिकेयको नाम हो । त्यसैले उनीहरू पूर्वीय ज्ञानबाटै दीक्षित थिए ।

संस्कृत भाषासँग ग्रीक भाषको नाता नजिक थियो भन्ने धेरै प्रमाणहरू पाइन्छ । अङ्ग्रेजीको father, mother जस्ता शब्दहरू ग्रिक pater, mater बाट बनेका हुन् र यी शब्दहरू संस्कृतको पितर, मातरका अपभ्रंश रूप हुन् । अङ्ग्रेजीका शब्दहरू सुनुबाट सन, दुहिताबाट डटर, द्वारबाट डोर, अग्निबाट अग्नाइट, मनुबाट म्यान, दन्तबाट डेन्टल, गौबाट काउ, नसबाट नोज, समबाट सेम, भमबाट भमिट, नवबाट न्यु, मनबाट माइन्ड, नसबाट नर्भ, अणुबाट एटम, नग्नबाट नेकेट, शरणबाट सेल्टर यस्ता अनेक शब्द छन् जो संस्कृतबाट अंग्रेजीमा गएका हुन् । (विनु पेखरेल, हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?) यसबाट भन्न सकिन्छ कि युननीहरू संस्कृतबाट धेरै प्रभावित थिए । यी विद्वानहरूले दिने शिक्षा यहाँकै पाठ्यक्रको मिल्दोजुल्दो हुन्थ्यो । एउटा उदाहरण हेरौँ युनानी दार्शनिक प्लेटो भन्छन् - विज्ञान र वास्तविकताको सामञ्जस्य नै ज्ञान हो । वास्तविकता निर्विषय हुन सक्दैन । अनि त्यही विषयको एक रस विज्ञान हो । (दर्शन-दिग्दर्शन, युनानी दर्शन, पृ.१५, किताब महल, इलाहवाद) अहिले अमेरिकालगायतका देशहरूमा यसैको प्रभाव पाइन्छ ।

वर्तमान समयमा भौतिक उन्नतिका लागि चाहिने शिक्षा मात्र दिने र लिने परम्परा बस्न थालेपछि विस्तारै धर्म र संस्कृति र मानव चरित्र ओझेलमा परेका छन् । जसले गर्दा आत्मिक शिक्षाको मूल जरो जो वास्तविक ज्ञानको रहस्य नै कमजोर बन्न पुगेको छ । उत्तरवैदिक कालपछि सुरु भएको वर्णाश्रम व्यवस्थाले शिक्षालाई मानसिक, शारीरिक, व्यावहारिक र नैतिक शिक्षाका रूपमा विकसित गर्दै गयो र शिक्षाले आधुनिकता ग्रहण गर्दै जाँदा शिक्षा विज्ञान र व्यवहारिकतातर्फ मोडिदै गयो । आज पूर्णरूपले शिक्षा भौतिक उन्नतिका लागि मात्र जस्तो देखिएको छ ।

वैदिक वाङ्मय-

पश्चिमाहरूले गुन गाउने पूर्वीय वैदिक साहित्य कस्तो थियो त ? केही चर्चा गरौं- वैदिक साहित्यमा शिक्षाको अर्थ ज्ञान, बुद्धि र नम्रता हो, अर्थात् वेदका अनुसार शिक्षा भन्नु ज्ञान वा बुद्धिको प्राप्ति हो । वेदमा आधारित शिक्षाले ज्ञान, आत्मा र ब्रह्मको खोजी गर्छ । शिक्षाको उद्देश्य आत्मानुभूति हो । वेदलाई सबै ज्ञानको विश्वकोश मानिन्छ । वेदमा विद्यालाई मोक्ष वा मुक्तिको साधन पनि मानिएको छ ।(सा वद्या या विमुक्तये) पश्चिमी संसारमा विद्या र शिक्षलाई एउटै रूपमा लिइन्छ तर पूर्वीय मान्यता अनुसार शिक्षा र विद्यामा भिन्नता देखिन्छ । यो मानिसका लागि आत्मा पहिचानको माध्यम थियो, जसले गर्दा उसले जीवनको अन्तिम लक्ष्य प्राप्त गर्न सकोस् । पहिले आफूलाई चिन र आफ्नो कर्तव्यको पहिचान गर भन्ने कुरा वैदिक कालीन शिक्षाको उद्घोष थियो । यसै परम्परामा तत्कालीन बालकहरूको पठनीय शिक्षा समाविष्ट भएर आएको थियो । त्यसैले त्यस बेलामा पढ्नु, पढाउनु र ज्ञानको तह खोज्नु जीवनका मूल लक्ष्य थिए ।

हाम्रा ऋषिहरूले दुई प्रकारका विद्याको वणर्न गरेका छन् - एउटा अपरा विद्या र अर्को परा विद्या । अपरा अर्थात् भौतिक विद्यामा सबै वेद-शास्त्र, उपनिषद्, पुराण आउँदछन् । भौतिक जगत्को अध्ययन गर्ने विद्या आउँदछ । परा विद्या याने अध्यात्म विद्या ब्रह्मको विद्या हो, आध्यात्मिक ज्ञानको खोजी गर्ने विद्या हो । प्रचीन कालमा अपरा विद्याले मान्छे पूर्ण हुँदैनथ्यो, पराविद्यामा पारङ्गत भएपछि ऊ आचार्य बन्थ्यो । आत्मिक -आध्यात्मिक) विषयलाई बढी जोड दिइने शिक्षा कठिन विषय हो । अहिले पराविद्याको महत्व रहेन ।

वैदिक कालमा शिक्षा-

वैदिक कालमा प्रायः बालकहरू शिक्षाबाट वञ्चित हुनु पर्दैनथ्यो किनभने त्यसबेला आजको जस्तो शुल्कको आवश्यकता थिएन, सबै बालबालिकालाई अनिवार्य संस्कारकै रूपमा पढाइन्थ्यो । तत्कालीन अवस्थामा । सारा भारतवर्षमा ५ लाखभन्दा बढी संस्कृतका गुरुकुलहरू सञ्चालित थिए । मान्छे व्यवहारवादी बने, विस्तारै भौतिक शिक्षाको प्रभाव बढ्यो । यसरी भौतिक शिक्षाको विकासँगसँगै चरित्र र व्यवहारमा अनुशासन सिकाउने नैतिक शिक्षा धरासयी हुर्दै गए । तात्कालीन शिक्षाको अवस्थामा आधुनिक शिक्षा पुग्न अझै धेरै कुर्नुपर्छ ।

एकपटक तुर्केली आतङ्ककारी शासक बख्तियार खिलजी बिरामी भएछ । उसलाई कसैले उपचार गर्न नसकेपछि भारतबाट वैद्य झिकाएछ । उसले उपचार गरेर निको भएपछि जडीबुटीबाट यस्ता रोग निको हुने पद्धति देखेर अचम्म परेछ र यस्तो विद्या आफूसँग नभएपछि यसलाई समाप्त गराउनु पर्छ भनी भारतमा आक्रमण गरी सफल पनि भयो । फलस्वरूप करिब तेस्रो, चौथो शताब्दीतिर स्थापित पुस्पगिरि, नालन्दा, छैटौं शताब्दीतिर स्थापित विक्रमशीला, उदान्त पुरि सोमपुरा आदि विश्वविद्यालयहरू ध्वस्त गरियो

यी विश्वविद्यालयले दिइएको शैक्षिक योगदान र ज्ञानविज्ञान ओझेलमा परे । हामी कल्पना गरौँ -यदि यी विश्वविद्यालय अहिलेसम्म  रहेका भए विश्व कहाँ पुगिसकेको हुने थियो । तर भारत र नेपालमा पनि यही बेलादेखि अन्धकारको युग सुरु भयो । यदि भारत अन्धकारतिर नधकेलिएको भए क्याम्ब्रिज, अक्स्फोर्ड जस्ता विश्वविद्यालयहरू पनि चर्चामा आउदैनथे होला ।

अहिले कतिपय विद्वानहरूले युरोप र अमेरिकामा संस्कृत शिक्षालाई महत्व दिई अनुसन्धान र प्रयोग गर्दैगर्दा हामी वेद च्यात्नुपर्छ भन्दै आन्दोलन गर्दै छौं । यहाँका शिक्षाविदहरू संस्कृत भाषा र ग्रन्थहरूप्रति अनेक कुतर्कहरू गर्छन् । कतिपयले सामाजिक विभेदममा अल्झिएका सीमित कट्टरपन्थी ढोंगी ब्रह्मणवादीहरूलाई देखाएर सम्पूणर् हिन्दुहरूमाथि आक्रमण गरिहेका छन् । अहिले विवाद ज्ञान विज्ञानको विकासमा होइन कुन धर्म मान्ने, गोरु खान पाउँने कि नपाउँने, ईसाई बन्ने कि हिन्दु रहने, हिन्दुहरूलाई कसरी लखेट्ने, बाहुनको वेद च्यात्नुपर्ने, अब नेपाली शब्दकोशमा ॐ किन राख्ने वा नराख्ने जस्ता विषयमा अल्झिन पुगेको छ समाज । कठै मेरो देश ! नेपालको संस्कृति मन्त्री नै नेपाली संस्कृति समाप्त गरी इसाईकरण गर्न उद्दत देखिन्छ । यो हेर्दा हाम्रा बुझक्कडहरू बाह्रौ शताब्दीको बख्तियार खिलजीभन्दा कमी छन् त ? धर्म के हो कसरी पालन गर्नुपर्छ भन्ने बुझ्दै नबुझी हामी टीका, टोपी, गाई गोरु, बाहुन, दलित आदिमा जोड्न खोज्छौँ । वेदलाई बाहुनको पेवा बनाइदिएका छौँ । आफ्नो पेटको बिनाको वास्ना खोज्दै जीवनभर दौडेर मर्ने कस्तुरी झैं हामी पोल्टाको हिरा फालेर आगोको कोइलाबिच हिरा खोज्दै छौं । त्यो कति उपयुक्त र सान्दर्भिक होला ? कतै हामीले गरेको गल्ती सम्झेर हाम्रा सन्ततिहरूले हामीलाई नै सराप्ने त होइनन् ?

अबको शिक्षा कस्तो हुनुपर्छ ? हाम्रो अबको शिक्षा प्रविधि मैत्री र पश्चिमी पद्धतिकाबिच पूर्वीय ज्ञानको संयोजन हुनु अनिवार्य छ । वेद सम्पूणर् ज्ञानको मूल हो । हामीलाई सङ्घर्ष नगरी मायाले स्याबास भन्नेवाला कोही छैन । त्यसैले हाम्रा वेद उपनिषद्को मन्थन गरौं र पुराणहरूले देखाएको सद्ज्ञान ग्रहण गर्दै हाम्रो इतिहास र भूगोलको खोजी गर्नु जरुरी छ । हाम्रा मूल्य र मान्यताहरू पहिचान गरी समया सापेक्ष अनुसरण गरी अगाडि जानुपर्छ । ज्ञान र विज्ञानको समन्वय गरी शिक्षालाई जीवन र जगतसँग जोड्नु पर्छ र यसले दिने मार्गदर्शनको खाका कोर्न सके पुनः हामीले पश्चिमी संसारलाई उछिन्न पनि बेर लाग्दैन अन्यथा हाम्रो अस्तित्व समाप्त हुनेछ ।

सन्दर्भसामग्री-

१. मभारतवर्षमा जीससः लेखक, होलगर कर्टेन अनुदित सम्पादन लोकमणि पौडेल

२. दर्शन(दिग्दर्शन, युनानी दर्शन, किताब महल, इलाहवाद

३. जागरणपोस्ट १६ श्रावण २०७७, शुक्रबार

४. विनु पेखरेल, हाम्रो भाषामा अंग्रेजी धमिरा किन ? नेपाल प्रेस, २०८० असोज ७ गते

५. विश्वबिख्यात महापुरुषहरूको दृष्टिमा पूर्वीय सभ्यता

६. विश्वविख्यात लेखकका दृष्टिमा पूर्वीय सभ्यता

७. डा.गेविन्दराज भटटराई -अन्नपूर्ण साउन १४, २०७४ शनिबार

८. विज्ञानको नजरमा वेद र बाइबलको अन्तर्कथा

९. साहित्य सँगालो, नेपाली साहित्यमा पठन, चिन्तन र सिर्जनाको धरातल गोन्दिराज भट्टराई फेब्रुअरी १८, २०१२

१०. श्रीमद्भागवत महापुराण

११. गीता यथार्थ ज्ञान

१२. वालमीकि रामायण (हिन्दी)

१३.बिहार का मध्यकालीन इतिहास

१४. वैदिक कालीन शिक्षा की विशेषताएं

१५. बौधायन, शुल्व सूत्र

१६. प्राचीन भारत में वैज्ञानिक सृजन: मिथक और यथार्थ

१७. वेदों में विज्ञान

१८. गोलपाद, आर्यभट

१९. (https://www.kailasheducation.com/2021/08/vedic-kalin-shiksha-ki-visheshta.html)

२०.  (https://palpalindia.com/2020/07/14/Awesome-Ancient-Mathematician-of-India-Boudhayan-Author- of-the-Shulb-Sutra-and-Shruta-Sutra-news-in-hindi-10426.html)

२१.  (https://content.kopykitab.com/ebooks/2013/11/2312/sample/sample_2312.pdf)

२२. (https://www.kailasheducation.com/2021/08/pashchimi-shiksha-ki-visheshtayen.html)

दामोदर शर्मा

नेपाली शिक्षक