म हूँ त्यस्तो किताब जसलाई पढ्न,
तिमीलाई अल्छी लाग्छ,
त्यस्तो अध्याय हूँ म,
जुन बुझ्न तिमीलाई समय लाग्छ ।
मेरो बारेमा जान्न गाह्रो होला तिमीलाई,
तर मसँग रङ्गिन सजिलो लाग्छ ।
यति भन्दा पनि तिमी बुझेनौ ?
साँच्चै थाहा छैन र तिमीलाई म को हुँ ?
म हूँ त्यस्तो कलात्मक कृति जसलाई
म जस्तै मातृत्वले जन्माएकी हुन् ।
फरक छैन तिमी र मलाई जन्माउनेमा
छ त केबल, तिमी र मलाई हेर्ने दृष्टि
गरिने व्यवहार र दिइने सम्मानमा फरक छ ।
म हूँ त्यस्तो सेतो कपडा र सादा पन्ना
जसलाई अरुको कारणले उछिटिएको हिलो र
एउटा मात्र थोप्लाले पनि प्रभाब पार्छ ।
सुन्न चाहन्छौ मेरो कर्तव्य?
त्यसो त सुन –
मैले तिम्रो लागि बाँचि, तिम्रै निम्ति हाँसि दिनुपर्छ ।
समाजमा बुबा आमाको इज्जत मैले नै राखिदिनुपर्छ ।
जति सुकै दुःख किन नहोस् जीवनमा
खुसि छु भनी मुसुक्क हाँसिदिनुपर्छ ।
आफू खाऊ नखाऊ अरुका लागि धेरै कुरा
लुकाए राखिदिनुपर्छ ।
थाहा छैन र तिमीलाई?
मैले त समाजमा आफ्नो अस्तित्व आफै जुटाउनु पर्छ ।
आफ्नो अस्मिता मैले आफै जोगाउनुपर्छ ।
(Angels' Voice, Vol. 11)

अस्मिता नेपाल
कक्षा ११