एउटा विद्यार्थीले आफ्नो विद्यालय छोडेर अथवा भनौ आफ्नो विद्यालय जीवन सकाएर पढाईलाई निरन्तरता दिनको निम्ति भनेर कलेज जीवनमा प्रवेश गरेको हुन्छ। यसले कुनै पनि कलेजमा पढ्नु भन्दा अगाडि त्यो कलेजको बारेमा धेरै कुरा बुझेर मात्र त्यो कलेजमा आफ्नो भर्ना गर्ने गर्छ ।
हरेक विद्यार्थीले आफु पढेको कलेजमाथि धेरै आशा गरेको हुन्छ। कलेज जीवन भनेको कुनै पनि मानिसको एकदमै महत्वपूर्ण पाटो हो, उसको यो समय भविष्यसँग पनि जाडिएको हुन्छ। विद्यार्थीको पढाई त छदैछ तर विद्यार्थीमा भएको अरु क्षमतालाई पनि एउटा कलेज परिवारले प्रोत्साहन दिनुपर्ने हुन्छ।
आजकलको धेरै जस्तो कलेजहरुले आफ्नो कलेजमा विद्यार्थीको सङ्ख्या बढाउनको निम्ति नानाथरिका विज्ञापन गर्ने गर्छन् तर थोरै सङ्ख्याका कलेजले मात्र आफ्ना बाचा पुरा गर्छन् । भर्ना गर्नुभन्दा अगाडिको मिठा कुरा सबै तिता कुरामा परिवर्तन हुन पुग्छ। सस्तो भन्दा सस्तो कलेज भनेर पढेता पनि पढ्दै जादा त्यो कलेजको शुल्क विद्यार्थीले तिर्न सक्दैन। थोरै मात्र त्यस्ता कलेजहरु हुन्छन् जसले थोरै शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गराउँछन्। यसले के प्रमाण गर्छ भने शिक्षा यो समयसम्म आइपुग्दा एउटा व्यवसाय बनिसकेको छ।
शिक्षा प्रदान गराए बापत शुल्क लिनु नराम्रो होइन । किनभने त्यो शिक्षा प्रदान गराउने शिक्षकदेखि संस्थापकसम्म सबैको आफ्नो नीजि जीवन छ र उनीहरुको पनि इच्छा आकाङ्क्षा र आवश्यकता हुन्छन्। तर यो भन्दैमा शिक्षाको नाममा अरु कुराको व्यवसाय गर्नु भने पक्कै पनि गलत कुरा हो र यो कुरामा आवाज उठाउनु आवश्यकता छ ।
हामी विद्यार्थी जहिले पनि गुणस्तरीय शिक्षाको खोजीमा हुन्छौ। यसको निमित्त शुल्क पनि तिर्ने गर्छौ। यसका साथै हामी आफुमा भएको क्षमतालाई अगाडि बढाउन चाहन्छौ। यसको लागि कलेज एउटा अभिभावक बनेर आफ्नो विद्यार्थीको साथ दिनुपर्छ । कलेजभित्र हुन्जेलसम्म मात्र नभएर कलेजबाट निस्किसकेपछि पनि विद्यार्थीको गतिविधीबारे कलेजले थाहा पाउनु जरुरी हुन्छ र यदि कुनै पनि विद्यार्थी गलत बाटोमा हिड्दै छ भने सहि बाटोमा ल्याउनुपर्छ र सहि बाटोमा हिड्नेलाई सक्दो सहयोग गर्नुपर्छ ।
कुनै पनि कलेज र विद्यार्थीको सम्बन्धमा अभिभावक र उसको छोराछोरी जस्तो होस् । अनि एउटा विद्यार्थीले गर्वका साथ भन्न सकोस कि म यो कलेजमा पढेको हुँ ।
रुपेश भण्डारी
कक्षाः १२
