नृत्यका विशेषताहरु

Posted on : 26 April 2019
Views : 1932

मानव सभ्यताको विकासक्रमसँगसँगै विभिन्न संस्कृति र कलाको सृजना मानिसहरुले गर्दै आएका छन्। तिनै सृजना गरिएका कलाहरुमा जुन लालित्ययुक्त अर्थात सौन्दर्ययुक्त कला छ त्यसलाई हामी ललितकला भन्दछौ। मानवमनका सुक्ष्मतम भावहरुलाई सुकुमार एवं सौन्दर्यपुर्ण बनाएर ब्यक्त गरिने कलालाई ललितकला भनिन्छ। मानव सिर्जित ती सबै बस्तुहरु ललितकला होइनन्। ललितकला त केन्द्र हो, जसले सत्यम, शिवम र सुन्दरमको अभिव्यक्ति दिन्छ र उसमा प्राकृतिक सृष्टिबाट अपुग भएको नवीन सौन्दर्यको सृष्टि गर्ने क्षमता रहन्छ। नृत्यकला पनि ललितकलाको उत्कृष्ट विधाभित्र पर्दछ। जुनसुकै कलामा पनि आआफनै मौलिक विशेषताहरु रहने गर्दछ। पृथक अस्तित्व कायम गर्ने यी विशिष्टताले विशेष भुमिका खेल्दछन्। नृत्य ललितकलाभित्रकै एक महत्वपुर्ण एवम चर्चित कला हो। नृत्यमा लोक कला र ललितकलाको आफना मौलिक विशिष्टताहरु पाइन्छन्। मानव समाजमा नृत्य लोकप्रिय हुनुमा नृत्यको आफनै विशेषताहरु छन्। तिनको व्याख्या निम्नानुसार गर्न सकिन्छ।

१. मनोरञ्जनः मानिसलाई सुख होस् या दुःख जुनसुकै अवस्थामा पनि मनोरजन र पीडाहरुबाट मुक्ति दिने नृत्यको प्रमुख विशेषता हो। मनका पीडा र कुण्ठालाई पन्छाई स्वतन्त्र, उन्मुक्त एवम् हार्दिक भावनाको उद्दिप्ति गराई मानव मनलाई शान्त बनाउने कार्य नृत्यले नै गर्दछ। सुखको बेलामा पनि खुशीयाली बाँड्न मानिसले नृत्यको सहारा लिएको हुन्छ भने दुःखको बेलामा पनि उसले सबै पीडालाई नृत्यको सहारा लिएर बिर्सन चाहन्छ। पीडा बिर्सनु तथा आनन्द पाप्ति गर्नु नृत्यको मुल कार्य हो। अतः मनोरञ्जनलाई नृत्यको मुल विशेषता मान्न सकिन्छ।

२. जातीय संस्कृतिको संरक्षणः प्रत्येक  जातिहरुमा आआफनै मौलिक सांस्कृति रहेका हुन्छन्। जातिय संस्कृतिको एक महत्वपुर्ण रुप नृत्य संस्कृति हो। नृत्यको माध्यमबाट मानिसहरु आफनो लोकपरम्परा, रीतिरिवाज आदिको प्रस्फुटन गर्दछन्। मानवमनमा रहेका देवीदेवताप्रतिको स्वरुप आस्था र श्रद्धालाई दृश्यरुपमा पकट गर्ने काम नृत्यले गरेको हुन्छ। लोक परम्परा र रीतिरिवाजको प्रदर्शन तथा संरक्षणमा नृत्यको महत्वपुर्ण योगदान रहेको हुन्छ। गीत संगीत, वाद्ययन्त्रहरु, वेशभुषा, गरगहना, चालचलनको तथा जातीय पहिचान हुने अन्य विषयस्तुलाई पनि नृत्यको माध्यमबाट संरक्षण गरिएको हुन्छ। अन्तमा हामी के बुझ्न सक्छौ भने जातीय संस्कृतिको संरक्षणमा नृत्यको महत्वपुर्ण योगदान रहेको छ।

४.कलात्मकताः नृत्य ललितकलाको महत्वपुर्ण भाग हो। आफनो मनभित्र रहेका भावलाई शारीरिक अंग संचालनको माध्यमबाट प्रस्तुत गर्नु नै नृत्य हो। नविन सौन्दर्यको सृष्टि नृत्यकलाबाट प्रस्तुत गर्न सकिन्छ। कुनै पनि व्यक्तिले आफना भावनालाई कलात्मक ढंगबाट नृत्यकलाको माध्यमबाट प्रस्तुत गर्न सक्छ। ललितकला एवं नृत्यकलाको उत्पत्ति, विकास र संरक्षणमा नृत्यको विशिष्ट भुमिका रहेको छ।

४. रागात्मकता: नृत्यको महत्वपुर्ण विशेषता रागात्मकता पनि हो। सबै प्रकारका नृत्य र समय हुन्छ। नृत्यमा हुने गीत संगीत र अभिनयले श्रृंगार, वीर, करुण, रौद, भयानक आदि भाव प्रस्फुटित गर्दछ। ती भावहरुबाट दर्शकको मनमा रागात्मक भाव संचालन हुन्छ। दर्शकहरु कहिले रुने, कहिले हाँस्ने, कहिले डराउने गर्दछन्। नृत्यले मानिसको मानसिक परिवर्तन गर्दछ यो नृत्यको विशेषता हो।

५. नृत्यबाट मानसिक आनन्द मात्रै पाप्त नभएर यसबाट शारीरिक व्यायाम पनि हुने गर्दछ। शरीरलाई स्वस्थ र सुन्दर बनाउने काम नृत्यले गर्दछ। नृत्यले अनुशासन कायम गर्ने पनि प्रेरणा दिइरहेको हुन्छ। नृत्यले एक महत्वपुर्ण विशेषतामा व्यायाम पनि हो। व्यायामले शारीरिक र मानसिक शुद्धि बनाउनको साथै मर्यादित र अनुशासित बन्न पेरित गर्दछ।

६. नृत्यका तत्वहरु

नृत्य लालित्य गुण युक्त कला हो। यसका विभिन्न तत्वहरु रहेका हुन्छन्। नृत्यका संरचक तत्वहरु के के हुन् भनेर यस विषयमा धेरै मन्थन भएको पाइन्छ। नृत्यका तत्वहरुका बारेमा विभिन्न विद्धानहरुको भनाईलाई हामी निम्न अनुसार व्याख्या गर्न सक्छौ।

पुर्वीय नृत्य शास्त्रमा नृत्यका तत्वका रुपमा गीतवाद्य र अभिनयलाई लिइएको छ। यी तीन तत्वको त्रिवेणी नै नृत्य हो। भरतले नाटयशास्त्रमा गीत संगीत, अभिनय, रस, नायकनायिका, रंगमंच आदिलाई नृत्यको अनिवार्य तत्व मानेका छन्। केही नृत्यशास्त्रीहरुले भने गीत, वाद्य र अभिनयलाई मात्रै महत्व दिएका छन्।

पश्चिमी नृत्य शास्त्रका विश्लेषक वाल्टर सरेलले नृत्यमा निम्न अनुसारका तत्व रहेको मानेका छन्।

  •      ताल र लयको अंगसँग समन्वय
  •      चारी (खुटटाको चाल)
  •      अभिनय मुद्रा (हातको चाल)
  •      संगीत प्रविधि
  •      गतिशीलता गत्यात्मकता
  •      पाइला (कदम) चाल्नु
  •      गीत
  •      तालिम
  •      पोशाक र गरगहना
  •      स्वरलिपी

कृष्ण प्रसाद पौडेल

वरिष्ठ नृत्य प्रशिक्षक