विद्यार्थी, शिक्षा र गुरु

Posted on : 16 July 2019
Views : 3125

समुचित रुपबाट विद्यार्थी, शिक्षा र गुरुको विश्लेषण गर्नु सजिलो काम होइन। देशको सामाजिक, आर्द्थिक र राजनीतिक परिवर्तन ल्याउने यी पक्षहरुको इतिहास एकदमै लामो छ। आजको यो समाजमा मानिस सँगसँगै अगाडी बढ्नको लागि शिक्षाको आवश्यकता पर्छ र जुन मानिसले शिक्षा प्राप्त गर्दछ त्यो मानिस विद्यार्थी हुन्छ। 

जब मैले परीक्षाको लागि पढेर उत्तर दिन्छु, उक्त उत्तरबाट मलाई नम्बर मिल्छ र मा पास हुन्छु। त्यो पास भएको कागजले म पढेलेखेको छु भनेर जनाउछ तर बास्तबमा म पढेलेखेको छु या छैन भन्ने कुरा मलाई थाहा हुँदैन। यदि जो कोहीले पनि शिक्षा चाहन्छ भने त्यो पास भएको कागजको केही महत्व हुँदैन।  आज हामीले दिनरात लगाएर पढ्छौं तर त्यो पढेको कुरा हाम्रो जीवनको कुनै पनि पक्षमा काम लाग्दैन। शिक्षा भनेको नम्बर, ग्रेड र मार्कसिट होइन। शिक्षा भनेको हाम्रो जीवन चलाउन र समाजमा मानवतापुर्वक बाँच्नको लागि सिकाइने आधार मात्र हो। शिक्षाले ज्ञानमात्र होइन मानिसलाई मानवता सिकाउँछ। मानिसलाई मानिससँग गरिने व्यवहार सिकाउँछ। त्यतिमात्र नभएर शिक्षाले मानिसलाई जीवन सिकाउँछ।

हाम्रो समाज र मैले हेर्ने शिक्षा प्रतिको दृष्टिकोण फरक छ। हाम्रो समाजमा हरेक अभिभावकले आफ्नो छोराछोरी प्रथम भएको हेर्न चाहन्छन्। हरेकको बुबाआमा आफो छोराछोरी प्रथम हुनु पर्छ भनि दौडीरहेका हुन्छन्। जसले गर्दा बालबालिकाले शिक्षा त पाए तर कागजमा मात्र पाए। यदि हामीले हाम्रो बालबालिकालाई प्रथम भईस् भनि नसोधेर आज कसैलाई सहयोग गरिस् भनेर सोध्ने हो भने आजको ३० वर्षमा मानिसले आफ्नो लागि नभएर आरुको बारेमा सोच्न थाल्छ, फलस्वरूप मानिसले मानिसलाई सहयोगको भावना राख्न थाल्दछ, जुन आजको समाजमा छैन।

हाम्रो समाजमा जुन मानिसले शरीरमा ड्रेस र काँधमा झोला बोकेर स्कुल तर्फ लाग्छ त्यो विद्यार्थी हो भन्ने बुझछन् तर मेरो विद्यार्थी प्रतिको परिभाषामा भने फरक धाराणा छ। बालक होस् या वृद्ध मानिस जसले हरेक कुराबाट केही न केही ज्ञान आर्जन गर्न सक्छ भने त्यो मानिस विद्यार्थी हो। विद्यार्थी भनेको फूलबाट मोहित पार्ने भाव, खोलाबाट निरन्तरताको भाव, समुन्द्रबाट धैर्यरताको भाव, रुख बिरुवाबाट शितलताको भाव, गुरुगुरुमाबाट मानवता र जीवन जिउने कला र बबाआमाबाट समाजमा चाहिने उचित नीति र नियम आर्जन गर्ने मानिस विद्यार्थी हो। त्यतिमात्र नभएर यस सृष्टिमा पाइने हरेक कुराबाट केही न केही चिज सिक्ने मानिसलाई विद्यार्थी भानिन्छ।

हातमा कलम र झोलामा किताब र कापी बोक्दैमा त्यो मानिस बिद्यार्थी हुन सक्दैन। विद्या आर्जन गर्ने मात्र विद्यार्थी होइन, विद्यार्थी भनेको घर, परिवार, समाज, गाउँ र देशको लागि शिक्षा प्रयोग गरेर केही कार्य गर्न सक्ने मानिस हो। एउटा हातमा कलम र अर्को हातमा परिवार, समाज र देशको लागि जिम्मेवारी बोकेर हिँड्ने मानिस अर्को रुपमा विद्यार्थी हो। हाम्रो समाजमा विद्यार्थी र शिक्षा प्रति हेरिने जुन भ्रम छ, त्यो भ्रम हटाउन सकेमा हाम्रो शिक्षा क्षेत्रमा आमुल परिवर्तन आउनेमा कुनै दुई मत छैन। जसको लागि सरकारी निकायले पनि ठूलो भूमिका खेल्न आवश्यक छ।

उद्देश्य लिएर चल्नेहरु कहिले अगाडी बढ्न सक्छन् त कहिले पछाडी पनि रहन सक्छन् तर लक्ष्य हासिल गर्न आवश्यक छ। जीवनमा हामीले जे प्राप्त गर्छौं, त्यो हामीलाई शिक्षा दिने गुरुगुरुमाहरुको मेहनत हो। जसरी एउटा शिल्पकारले बाटोमा भेटेको कुनै ढुँगालाई मूर्तिको आकार दिन्छ, त्यस्तै गरी गुरुगुरुमाहरुले विद्यार्थीहरुलाई सही ज्ञान दिएर जीवन धन्य बनाइदिन्छन्। त्यसैले त भनिन्छ-
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नमः

आफुसँग भएको सारा ज्ञान विद्यार्थीलाई अर्पण गरेर संधै विद्यार्थीकै भलो चाहने गुरुगुरुमाहरु महान हुनु हुन्छ। यी गुरुगुरुमाहरुलाई मेरो कोटी कोटी नमन छ।

सूर्य पौडेल

कक्षा : १२