जस्ता, प्वाल अनि भुई
कमिलाको ताँती
मेरो हेराइ अनि अचलता
निःशेष प्रवेश र चियाई
सामुन्ने भित्तो
अनि त्यही तस्वीर
मलाई अचल पार्दै
मेरो खिल्ली गरिरहेछ
म सानो छदाँको
त्यही हो म, अनि
कुरी... कुरी
कति निर्लज्ज अनि निर्लिप्त बन्छ ऊ
उल्तै म उसको लाज सम्हाल्दिन
आफ्नो हाँसो दवाउँछ
कति निडर अनि अटल
म सुस्त सुस्तै तस्वीर छुन चाहन्छु
अँह ! मेरो ढाड सोझो रहँदैन
बाल्यकालको आकृति नियाल्न खोज्छु
अँह! दृश्य स्पष्ट बन्दैन
बस लठ्ठी भाँची....
म भुईमा गिर्न पुग्छु
उही मुहारमा,
प्रस्फुटिलता अनि सौखिन रुपमा
त्यो एकवस्त्रै बेसर्मी बच्चो मलाई
सहारा गर्दैन
एकोहोरो गिज्याइरहन्छ ।
त्यो बच्चो
पल्ववित रुपमा
मेरो कुप्रो स्वरुप
विना पलक चियाइरहन्छ
विना पलक चियाइरहन्छ
सुस्केरा...... ऊ गर्दैन
चलायमान..... ऊ बन्दैन
(निस्तब्धता)
म सुस्त सुस्तै बाहिरिन्छ ...... ऊ डाक्दैन
बस प्वाल परिरहन्छ
कमिला उफ्रिरहन्छन्
बारम्बार म प्रवेश गर्छु
र, उही .......
(निस्तब्धता)

रमेशराज अधिकारी
+२, संयोजक